सिंगापुरको पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड भन्दा बढी ठगी गर्ने पक्राउ

नारीकोसिस डटकम/असार ४, हेटौँडा । सिंगापुरको पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले नुवाकोट गणेस्थानका प्रविन पौडेललाई मकवानपुरबाट मंगलबार पक्राउ गरेको छ ।
काठमाडौं विशालनगरमा द एपेरेन्टीक फर्म प्रा ली, नामक ट्रेनिङ सेन्टर खोलेर सिंगापुरमा कामदार पठाउने र त्यहाँ मासिक ६५० डलर तलब स्केल हुने भन्दै उनले रकम असुलेको प्रहरीको भनाइ छ।
उनले विभिन व्यक्तिहरुसँग पाँच लाख रुपैयाँका दरले रकम लिइ भारतको दिल्ली र लखनउको पानीजहाजमा काम गर्नेलाई तालिम दिइने संस्था एस.ओएल.ए.एस. मा तालिम लिन पठाएका थिए।
झापा कन्काई नगरपालिका ८ घर भएका तीर्थ हमालले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई मकवानपुरको पारिजात पथबाट पक्राउ गरेको हो।
तीर्थ हमालसँग उनले सिंगापुर पठाइदिने भनेर पाँच लाख रुपैया लिएर, प्रोसेस भैरहेको छ भन्दै सम्पर्क विहीन भएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले ३०० जना भन्दा बढी मानिसहरुबाट ६ करोड रुपैयाँभन्दा बढि रकम ठगी गरेको खुलेको हो। साथै यस कार्यमा अन्य मानिसहरुको पनि संलग्नता भएको खुल्न आएकोले उनीहरुको पनि खोजी कार्य भैरहेको महानगरिय अपराध महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया