गर्मीमा कुल लुक्स राख्न यस्तो गर्नूहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गर्मीमा कुल लुक्स राख्न यस्तो गर्नूहोस्

Share

सुख्खा हावा र धूलो धुँवा उड्न थालेको छ । यतिबेला तपाईलाई यताउता हिँड्न गाह्रो हुँदो हो । शरीर पसिनाले निथु्रक्क भिज्न सक्छ । त्यसमाथि धुलो र धूँवाको लेप लाग्न सक्छ । त्यसैले तपाईलाई केही गर्न जाँगर चल्दैन । अल्छी लाग्छ । तपाईको फुर्ति एकाएक शिथिल हुन्छ ।

गर्मीमा शरीरलाई शीतल राख्नुपर्छ । अर्थात वाह्य वातावरणसँग शरीरको तापमान सन्तुलित राख्नुपर्छ । जब तपाई शारीरिक रुपले फिट रहनुहुन्न, पहिरन वा मेकअपले मात्र तपाईले कुल लुक्स दिन सक्नुहुन्न । त्यसैले सबैभन्दा पहिलो सर्त हो, स्वास्थ्य ।

गर्मीमा तपाईंले शरीरलाई भित्रैबाट सितल राख्नुपर्छ । यसको काइदा भनेको तरल पदार्थ सेवन हो । अर्थात पानी, जुस, सर्वत आदि पिउनुहोस् । गर्मीमा बजारको जुस वा प्याकेटबन्द जुस सेवन गर्नु त्यती राम्रो होइन ।

सर्बोतम चाहि सर्वत हो, जो हामीकहाँ विगतदेखि नै पिउने प्रचलन छ । त्यस्तै, दही, मोही पनि यतिबेला निकै उपयोगी पेय हुन् । गर्मीमा तातो पानी वा तातो पेय भने त्यती राम्रो हुँदैन । जस्तो कफी, चिया ।

यतिबेला मौसमी फलफूल सेवन गर्नु अरु बढी उपयोगी हुन्छ । ऋतु एवं मौसम अनुसार प्रकृतिले विभिन्न फलफूल उत्पादन गरेको हुन्छ । अतः यी मौसमी फलफूल शरीरका लागि निकै लाभदायक हुन्छ ।

गर्मीमा शारीरिक सरसफाईमा अरु बढी ध्यान दिनुपर्छ । पसिना आउने र मैला जम्ने भएकाले नुहाइ धुवाई गर्नुपर्छ । यसले गर्दा शरीरमा व्याक्टेरिया जम्न पाउँदैन । शरीरबाट दुर्गन्ध निस्कदैन ।

गर्मीमा चिसो पानीले नुहाउँदा बेग्लै स्फूर्ति पनि जाग्छ । खासगरी शरीरको कापमा, काखीमा फोहोर मैला जम्ने हुन्छ । त्यस्ता ठाउँको सफाईमा बढी ध्यान दिनुपर्छ ।

पसिना र धुलोको लेप लाग्ने भएकाले छालाको रोमछिद्र बन्द हुन्छ । यसले गर्दा शरीर भित्रका विकार वाहिर निस्कन सक्दैन । त्यही कारण छालामा समस्याहरु देखापर्न थाल्छ । शरीरको भित्री विकारलाई हटाउन पनि नुहाई धुवाई गर्नु उपयुक्त हुन्छ ।
गर्मीमा लगाइने पहिरनले पनि खास अर्थ राख्छ । फेसन विज्ञहरुका अनुसार यतिबेला सहज, खुला र उज्यालो रंगको पहिरन लगाउनुपर्छ ।

उज्यालो रंगको पहिरनमा घामको किरण परावर्तन हुन्छ । यसले गर्दा शरीरमा गर्मी अनुभव हुन पाउँदैन । फिटिङ्स लुगामा पसिना बढी आउने र असहज हुने भएकाले खुला लुगा लगाउनु उपयुक्त हुन्छ ।

यद्यपी शरीर खुला राख्नु भने त्यती ठिक हुँदैन । पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ, खासगरी घरबाहिर निस्कने बेलामा । उज्यालो रंग, खुला पहिरनले गर्मीमा कुल लुक्स दिन्छ ।

गर्मी सिजनमा तपाईको लागि सबैभन्दा उपयोगी हुनसक्छ, छाता । यसको उपयोगिता घाम चर्किएको बेला मात्र होइन, पानी दर्किएको बेला पनि हुन्छ ।

गर्मीमा हिँडडुल गर्दा छाता ओड्न सकिन्छ । यसले घामको सोझो प्रकाश शरीरमा पर्न दिदैन । साथसाथै सितलता पनि महसुष हुन्छ । यो सिजनमा पानी पर्ने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले पानी परेको बखत छाता उपयोगी हुन्छ ।

गर्मीमा कपालको साजसज्जा पनि केही बदल्न सकिन्छ । खासगरी पुरुषले कपाल छोटो बनाउन सक्छन् । हेयर स्टाइलिस्टहरुका अनुसार गर्मीमा छोटो कपाल बनाउँनु बढी सुहाउँदो हुन्छ । त्यस्तै महिलाले कपाललाई पातलो सल वा स्कार्फले ढाक्न सक्छन् । यसले गर्दा कपालमा धुँवा धूलो जम्ने डर हुँदैन ।

गर्मीमा स्टाइलिस देखिन मात्र होइन, आँखाको रक्षाको लागि पनि सनग्लास लगाउनुपर्छ । यसले कुल लुक्स दिलाउनका साथै आँखालाई धुलो धूँवाबाट जोगाउँछ ।

तपाईको प्रतिक्रिया