दिक्क लागेको मानसिक स्थितिमा हुनुहुन्छ ? सहयोगी टिप्स

तपाईले पढ्नकै लागि मात्र पढिरहनुभएको हो ? काम गर्नकै लागि मात्र काम गर्नुभएको हो ? आफूले पढिरहेको या काम गरिरहेको कुरासँग आफ्नो उदेश्य र रुची मेल खाएन भने जिन्दगी देखि नै दिक्क लाग्न थाल्छ । आफ्नो दैनिक रुटिनदेखि नै दिक्क लाग्छ । त्यसैले आफूले किन त्यो काम गरिरहेको छु भन्ने कुरामा प्रष्ट हुनुहोस् ।
दिक्दारीलाई हटाउने एउटा मूख्य कुरा रमाउन सिक्नु हो । जन्मदिन, कुनै विशेष दिन या पर्वहरु आउँछन् । ती दिनहरुमा आफ्नो नियमित कामलाई बे्रक गरेर रमाउनुहोस् । यसले मनमा खुशी मिल्छ, शरीरमा उत्साह आउँछ र दिमाग ताजा बन्छ ।
केही गर्न नै मन लाएको छैन भने कामबाट केही छिन ब्रेक लिनुहोस् । मज्जाले सुत्नुहोस् । यसले गर्दा मानसिक तथा शारीरिक थकान कम हुन्छ र नयाँ उर्जा आउँछ । त्यसपछि आफ्नो नियमित काममा केही फरक ल्याउनुहोस् । काममा आफ्नो लागि पनि समय निकालेर समय तालिका बनाउनुहोस् । एकोहोरो काम गर्ने बानी छोड्नुहोस् ।
कहिलेकाहीं काममा नयाँपनको कमी तथा आफूमा उत्प्रेरणाको कमीले पनि दिक्क लाग्छ । आफ्नो कामको क्षेत्रको नयाँ के भैरहेको छ भन्ने बुझ्नुहोस् । आफ्ना योजनाहरु बनाउनुहोस् । आफ्नो कामको क्षेत्रका मानिसहरुलाई भेटेर कुराकानी गर्नुहोस् । सभा सेमिनारहरुमा सहभागी हुनुहोस् । काम गर्ने या पढ्ने नयाँ तरिका खोज्नुहोस् । यसले गर्दा नयाँ जोश जाँगर आउँछ ।
नयाँ साथी बनाउनुहोस् । नयाँ ठाउँमा भ्रमणको लागि जानुहोस् । लामो समयसम्म एक्लै बस्दा या आफ्नो मनका कुरा, विचार व्यक्त गर्न नपाउँदा पनि दिक्दारीले सताउँछ । त्यसैले समय निकालेर बाहिर निस्कने, साथीहरुसँग समय बिताउने, आफ्नो भावना र विचारलाई डायरीमा टिपोट गर्ने गर्नुहोस् । परिवारका सदस्यसँग समय बिताउनुहोस् । आफूलाई मनपर्ने खाना खानुहोस् । योगा र मेडिटेसन गर्नुहोस् । सामाजिक काममा सहभागी हुनुहोस् । यसले गर्दा दिमागमा सकारात्मक सोचहरु आउँन थाल्छन् ।
तपाईको प्रतिक्रिया