जिब्रो सफा राख्ने तरिकाहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जिब्रो सफा राख्ने तरिकाहरु

Share

हामी दिनहुँ दाँत माझ्छौँ । जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ ।

जिब्रो लाइ सफा राख्न अपनाउनुस् यी तरिका :

१.टङ क्लिनर
बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

२.नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

३.नुनपानी
पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन् ।

४.दही
खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ ।

५.नरिवलको तेल
बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ ।

६.घ्यूकुमारीको जुस
घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

७.बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा पनि जानी राख्नुहोस :

-धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

-धेरै तातो र धेरै चिसो नखाने ।

-मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

-हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

-मुखमा खानेकुरा राखेर नसुत्ने ।

-बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

-बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

-रेसा भएको र पोसिलो खानेकुरा खाने ।

-पानी प्रशस्त पिउने ।

-वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

-नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

तपाईको प्रतिक्रिया