रवि लामिछाने समर्थकको प्रदर्शनप्रति नेकपाको आपत्ति

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रवि लामिछाने समर्थकको प्रदर्शनप्रति नेकपाको आपत्ति

Share

नारीकोसिस डटकम/भदौ २, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।

प्रदर्शनमा पार्टीका नेताको नामै किटेर नाराबाजी गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको हो । सोमबार जारी विज्ञप्ति नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’

नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुने पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ ।

नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ । ‘निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हाम्रो पनि चाहना हो । अनुसन्धानका क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले निरुपण गर्न दिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया