आज उपनिर्वाचनः तीनै तहका रिक्त पदका लागि मतदान हुँदै

नारीकोसिस डटकम/मंसिर १४, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही रिक्त पदमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन हुँदैछ ।
विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदपूर्तिका लागि आज मतदान हुन लागेको हो ।
निर्वाचन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।
३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
तिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १ (क), बागलुङ २ (ख), दाङ ३ (ख) मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।
रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।
गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन् ।
मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया