अत्याधिक चिसोका कारण तराईको जनजीवन प्रभावित, सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा

नारीकोसिस डटकम/पुस ३, काठमाडौं । अत्याधिक चिसोका कारण तराईको जनजीवन प्रभावित बनेको छ ।
गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।
चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ ।
विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सालगायतका जिल्लाहरुमा शीतलहरको असर बढी परेको छ ।
शीतलहरका कारण अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आज र भोलि बन्द गर्ने निर्णय भएको छ ।
सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको हो ।
शनिबारको मौसमी अवस्था हेरेपछि थप के गर्ने भन्ने बिषयमा भने निर्णय लिइने उपमहानगरपालिकाका मेयर निर्प ओडले जानकारी दिए ।
उता भिमदत्त नगरपालिका कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।
आज पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गरिन ।
शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।
तपाईको प्रतिक्रिया