जाडोमा औँला सुनिने समस्या: रोकथाम र उपचार

नारीकोसिस डटकम । जाडो मौसममा छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ । स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुमध्ये औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या पनि एक हो । धेरैलाई यो समस्याले सताईरहेको हुन सक्छ ।
यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो (Pernio) वा चिलब्लेन (Chilblains) भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति ।
चिकित्सकहरुअनुसार चिसो पानी चलाइरहने, चिसोमा काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिने गर्छ ।
चिकित्सक भन्छन् ‘यो चिसोप्रति मानिसको शरीरको असामान्य प्रतिक्रिया हो । यो समस्या शरीरका खुल्ला रहने भागहरु जस्तोः हात, खुट्टा, मुख आदिमा बढी देखिन्छ । चिलब्लेनको समस्या भएमा सुन्निने मात्रै होइन रातो हुने, चिलाउने र घाउ नै हुन सक्ने र यो बढेमा संक्रमणको जोखिम पनि हुन सक्छ ।’
औंला सुन्निनु चिलब्लेन मात्र नभएर बाथको सुरुको अवस्था पनि हुन सक्छ त्यसैले यसबारे विरामी सचेत हुन जरुरी छ ।
रोकथाम र उपचार
चिलब्लेनको समस्या आउन नदिन मुख्यत चिसोबाट बच्नु पर्छ । यसमस्या आइहालेमा हातखुट्टालाई चिसो हुनुबाट बचाउनुपर्छ । धुम्रपान (निकोटिन)ले पनि रक्तनली खुम्च्याउने भएकाले यस्ता समस्या भएका मानिसले त धुम्रपान गर्नै हुँदैन । यस्ता समस्या आउन नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तोः
–घर अथवा कोठालाई न्यानो राख्ने, पूर्णरुपमा शरीर छोप्ने गरी कटन अथवा नरम खालको कपडा लगाउने गर्नुपर्छ ।
–हातखुट्टा छोप्न पन्जा अनि मोजाको प्रयोग गर्ने । तर धेरै कस्सिएको पन्जा अनि मोजा भन्दा हल्का खुकुलो लगाउने ।
–कतै हिडनु अगाडी हातका औंला अनि खुट्टाको व्यायाम गरेर निस्कने ।
–हात खुट्टालाई मनतातो पानीमा नुन राखी डुवाउने ।
–धेरै पानीमा काम गर्नुपरेमा पानी नपस्ने पन्जाको प्रयोग गर्ने ।
–घाममा सेकाउने ।
सामान्यतः यस्तो समस्या देखिएको एक सातादेखि तीन साताभित्रमा निको हुन्छ । निको भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।
डा। कर्ण यस्तो समस्या भएमा हिटरको नजिक नवस्न सल्लाह दिन्छन् । हिटर नजिक बस्दा सुन्निएको भागमा असर गर्न सक्ने भएकाले अलि टाढा बस्ने । मनतातो पानीमा डुवाएर सुख्खा पार्ने र भेसलिन, लोसन लगाएर पन्जा, मोजा लगाउनु राम्रो हुन्छ ।
कहिले काही समस्या बढेर संक्रमणको जोखिम पनि हुन्छ । संक्रमण भयो भने घाउ हुने वा छाला कडा भएर अरु समस्या निम्तिन सक्ने भएकाले छाला रोग विशेषज्ञको सल्लाह लिन चिकित्सकहरु सुझाउँछन् ।
तपाईको प्रतिक्रिया