जाडोमा कसरी स्वस्थ रहने ?

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
जाडोमा कसरी स्वस्थ रहने ?

Share

अनिल श्रेष्ठ । काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ। चिसो बढेसँगै जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। त्यसैले चिसोबाट जोगिन आवश्यक छ । चिसोका कारण स्वाथ्यमा विभिन्न समस्याले सताउने भएकोले जाडोमा स्वस्थ रहनको लागि निम्न कराहरुमा ध्यान दिनुहोस्:

न्यानो कपडा लगाउनुपर्छ।टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन। विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।

– बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ।पर्याप्त तातोपानी पिउन आवश्यक छ। चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं।जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ। चिसोमा सारुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउनुपर्छ। चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ।यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ।

– जाडोमा सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धी समस्या देखापर्छ। यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ।

– मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन। बिहान(बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ।

– स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ। फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

– शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ। साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ।चिसोले छालालाई सोसेर सुख्खा बनाइदिन्छ।

– कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्र शरीरलाई रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

– जाडोको समयमा जाडो भुल्न धूमपान तथा मध्यपान गर्ने चलन छ। यी पक्षले कुनै पनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। स्मोकिङले फोक्सो बिगार्ने र मदिराले कलेजो लगायतका अंगलाई बिगार्ने काम गर्छ।

– जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ। त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।
(लेखक सशस्त्र प्रहरी बलका हेल्थ असिस्टेन्ट हुन्)

तपाईको प्रतिक्रिया