जाडोमा टन्सिलको जोखिम: कसरी बच्ने ?

नारीकोसिस डटकम । जाडो सिजनमा धेरैमा घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो भएर घाउ हुने जस्ता समस्याले सताउन सक्छ । जसले गर्दा टन्सिल हुन सक्छ ।
घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने समस्यालाई टन्सिल भनिने गरिन्छ । चिसो, धुलो, धुवाँ तथा मौसमी ब्याक्टेरियाको संक्रमणका कारण देखिने समस्यालाई टन्सिल वा टन्सिलाइटिस भनिन्छ ।
मुखको सफाइमा लापरवाही गरे, कुपोषण, वातावरणीय प्रदूषण, चिल्लो, अमिलो तथा चिसो खानेकुराको सेवनका कारण पनि टन्सिलको समस्या देखा पर्न सक्छ ।
टन्सिल हुदा टन्सिल बढ्दै गएर घाँटी दुख्ने, खस खस हुने, घाँटीको ग्रन्थीहरू सुन्निने, थुक निल्न पनि गाह्रो हुने, सास गनाउने, खाना खान मन नलाग्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, वान्ता हुने, टन्सिलमा पिप देखिने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्न थाल्छ ।
यदि टन्सिलको समस्याले सताएको बेलामा सबै भन्दा सुरुमा चिसो, अमिलो र पिरो खानेकुरा खान बन्द गर्नु पर्छ । टन्सिल भएको खण्डमा केही घरेलु उपचार गरेर यसलाई निको पार्न सकिन्छ । टन्सिल हुँदा नुन हालेको तातो पानीले दिनको तीन–चार पल्ट कुल्ला गर्नु सबैभन्दा लाभकारी उपाय हो । यसरी नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र हामीलाई दुखाईमा पनि राहत मिल्छ ।
मनतातो तरल पदार्थ तथा सुप पिउने, कफि तथा रक्सीको प्रयोगबाट टाढा रहने, जंकफुडको सेवन नगर्ने, र चिसोमा हिँडडुल गर्ने गर्नु हुँदैन । यदि निको नभएको खण्डमा डाक्टरको सल्लाहअनुसार एन्टीबायोटिकको सेवन गर्नु पर्छ ।
तपाईको प्रतिक्रिया