चार दिनदेखि लुक्लामा उडान नहुँदा यात्रु अलपत्र

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
चार दिनदेखि लुक्लामा उडान नहुँदा यात्रु  अलपत्र

Share

नारीकोसिस डटकम/असार ३, लुक्ला । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।

बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन ।
उडान प्रभावित हुँदा करीब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै छ ।

लुक्लामै यात्रु रोकिएपछि त्यहाँको होटलमा केही चहलपहल बढेको छ । पर्यटकीय ‘सिजन’ सकिएसँगै यस क्षेत्रका होटल व्यवसायीसमेत बाहिर जाने गर्छन् । यस क्षेत्रको लागि आम्दानीको मुख्य स्रोत नै पर्यटन भएकाले होटल व्यवसायी सिजन सकिएपछि घुम्नका लागि काठमाडौँलगायतका क्षेत्रमा निस्कने गरेका छन् ।

तपाईको प्रतिक्रिया