अन्त्येष्टि गर्न लगिएको शिशु चल्मलाएपछि

नारीकोसिस डटकम साउन २६, चितवन। देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख दानबहादुर मल्लले जन्मिएका शिशुमध्ये एक जनाको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको तर घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भन्दै अन्त्येष्टिका लागि देवघाट लगिएको जानकारी प्राप्त भएको बताउनुभयो ।
अन्त्येष्टिको लागि खाल्टोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको जानकारी दिनुभयो । घटना शंकास्पद देखिएपछि उत्खनन गरी अर्को शिशुको शव पनि पोस्टमार्टमका लागि ल्याइएको बताउनुभयो ।
जन्मिएका दुईमध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । बिहीबार बच्चा जन्मिएका थिए भने अन्त्येष्टिको घटना शुक्रबार भएको हो ।
अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जानकारी दिँदै उहाँले घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताउनुभयो ।
पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।



तपाईको प्रतिक्रिया