कोशी ब्यारेजमा ११ दिनदेखि कोशीपीडित अनशनमा

नारीकोसिस डटकम/भदौ १०, सुनसरी। कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् ।
कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए ।
कोशी ब्यारेज निर्माण भएका बेला सन् १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच भएको सम्झौताअनुसारको क्षतिपूर्ति रकम पाउनुपर्ने माग गर्दै आफूहरुले रिले अनशन शुरु गरेको उनले बताए ।
कोशी पीडितले आफूहरुको ५३ हजार बिघा भन्दा बढी जग्गा क्षति भएकोमा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाल सरकारलाई रु ८० करोड उपलब्ध गराएको भए पनि अहिलेसम्म त्यो रकम नपाएको र अरु जग्गाको पाउनुपर्ने क्षतिपूर्ति रकमसमेत नदिएकाले तत्काल भारत सरकारले त्यो रकम उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलनमा होमिएको पूर्वसांसद नागेन्द्र झाले बताए ।
आफूहरुको माग पूरा नगरे अहिले भारतीय सरकारले निर्माण गरिरहेको पाइलट च्यानलको कामसमेत रोक्ने उनले चेतावनी दिए ।
ब्यारेज बनेपछि घरखेत र बाली गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरे पनि हालसम्म १५ हजारभन्दा बढी परिवारको ५३ हजार बिघा भन्दा बढी जग्गा क्षति भएको पीडितको भनाइ छ ।



तपाईको प्रतिक्रिया