सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निमन्त्रणा कार्ड

नारीकोसिस डटकम/पुस २१, जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई ‘निमन्त्रणा कार्ड’ प्रदान गर्न सुरु गरेको छ ।
नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्य चौकी तथा अस्पतालमा आउन आग्रह गर्दै गर्भवतीहरूलाई निमन्त्रणा कार्ड दिने निर्णय गरेको हो ।
नगरपालिकाभित्रका प्रत्येक गर्भवतीको घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
पहिलो चरणमा नगरपालिका क्षेत्रका चारवटा वडाका ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ । नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको हो । निमन्त्रणा कार्डको एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कोतिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनु पर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उल्लेख गरिएको छ ।
गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन आग्रह गरिएको नगरपालिकाको जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो । सो कार्यले समयमै गर्भ जाँच गराउने र घरमै सुत्केरी हुने दर घटाउने अपेक्षा गरिएको उहाँको भनाई छ ।
तपाईको प्रतिक्रिया