लामो समय एकै ठाउँमा कुर्सीमा बसेर काम गर्नेहरूको स्मरण शक्तिमा असर

नारीकोसिस डटकम । प्रतिकुल वातावरण एंव आधुनिक जीवनशैलीका कारण दिनप्रतिदिन मानव स्वास्थ्यमा नाकारात्मक असर परिरहेको छ । आधुनिकताले मान्छेलाई सहज त बनाएको छ तर त्यो सँगसँगै नाकारात्मक प्रभाव पनि खेप्नुपरेको अवस्था छ । सामान्यतया अफिसियल कामहरु कुर्सीमा नै वसेर गरिन्छ । कुर्सीमा बसेर काम गर्नु सहज त हो तर यसमा लामो समय कुर्सीमा बसेर काम गर्ने मानिसहरूको स्मरण शक्ति कम्जोर हुने पाइएको छ । कुर्सीमा एकै ठाउँमा बसेर काम गर्ने मानिसहरूको मस्तिष्कमा रगतको सञ्चार राम्रोसँग नहुने हुँदा स्मरण शक्तिमा ह्रास आउने अध्ययनले पत्ता लगाएको छ ।
लिभरपुल जोन मोरेस विश्विद्यालयको जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको रिपोर्टअनुसार दिनभरि अफिसको कुर्सीमा बसेर काम गर्नेहरूको मस्तिष्कमा राम्रोसँग रगत सञ्चार नभएको पाइएको छ ।
तर काम गर्दै प्रत्येक आधा घण्टामा उठेर दुई मिनेटका लागि हिँड्ने व्यक्तिहरूमा भने यस्तो समस्या पाइएको छैन । मस्तिष्कमा राम्रोसँग रक्त सञ्चार हुनु मस्तिष्कका लागि मात्र नभएर शरीरका लागि पनि आवश्यक छ ।
मस्तिष्कका कोशिकालाई चाहिने अक्सिजन तथा पोषक तत्व रक्त सन्चारबाट नै प्राप्त हुन्छ । तर, एकै ठाउँमा बसेर काम गरिरहँदा मस्तिष्कमा हुने यो सबै प्रक्रियामा समस्या आउने अध्ययनको निष्कर्ष छ ।
मानिसबाहेकका अन्य जनावरहरूमा पनि गरिएको अध्ययनले एकै ठाउँमा बस्दा समस्या हुने निष्कर्ष निस्किएका थिए । रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउनुका साथै एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या पनि देखिन थाल्छन् ।
लामो समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर स्पाइनल कर्डमा पनि समस्या देखिने हुदा ढाड तथा गर्दनको समस्याहरू निम्तिन सक्ने निष्कर्ष निकालेका थिए । १५ जना व्यक्तिमा गरिएको अध्ययनमा यिनीहरूलाई अफिसको समयमा केवल बाथरुम जान मात्र दिइएको थियो ।
रगत प्रवाहलाई ट्र्याक गरेर हेर्दा यी व्यक्तिहरूको मस्तिष्कमा रगत सञ्चार कम भएको देखाएको थियो । तर, जब उनीहरूलाई हरेक आधी घण्टामा २ मिनेट हिँड्न लगाइयो, उनीहरूको मस्तिष्कमा रगत सञ्चार बढेको थियो ।
अध्ययनलाई नेतृत्व गरेकी सोफी कार्टरले अफिसमा काम गर्ने मानिसहरूलाई कम्तिमा पनि एक घण्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँडडूल गर्न सुझाव दिएकी छन् ।
तपाईको प्रतिक्रिया