चिसोबाट जोगिन ५ टिप्स

नारीकोसिस/डटकम । जाडो मौसमको जाडो महिना मध्ये मुख्य जाडो महिना माघ हो । जाडो सिजनमा स्वास्थ्यसम्वन्धी विभिन्न समस्याहरु देखा पर्ने गर्दछ । विशेषगरी मुटु, उच्च रक्तचाप, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्नसक्छ । जाडोमा शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।
यो सिजनमा सबैभन्दा बढी बुढापाका, बालबालिका, सुत्केरीलाई सताउने गर्छ । बुढापाकाहरुमा जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ । त्यसबाहेक हातखुट्टा, ओंठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाँया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।
त्यसैले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्दछ ।
चिसोबाट बच्न ५ टिप्स
१. खानपानमा ध्यान दिने– जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
२. शरीरलाई क्रियाशील राख्ने– जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।
३. वजन बढ्न नदिने– जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।
४. छाला स्वस्थ राख्ने– जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।
५. पर्याप्त सुत्ने– वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया